
युवालाई अवसर नदिएको भन्दै नेकपाभित्र असन्तुष्टी
काठमाडौं- युवालाई अवसर नदिएको भन्दै असन्तुष्टि जनाउँदै आएका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का ४० वर्षमुनिका युवाहरूले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएका छन्।
पार्टीले हालै ४५ सदस्यीय कार्यसंयोजन समिति गठन गर्दा युवालाई समेट्न नसकेको भन्दै असन्तुष्टि जनाउँदै आएका ती युवाहरूले सोमबार प्रचण्डलाई ज्ञापनपत्र बुझाएका हुन्। उनीहरूले पार्टीले जेन–जी आन्दोलनको म्यान्डेटअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आए पनि व्यवहारमा त्यसअनुसार काम नभएको आरोप लगाएका छन्।
ज्ञापनपत्रमा प्रतिनिधिसभा निर्वाचनका क्रममा देशभरका १६५ निर्वाचन क्षेत्रमा जेन–जी उम्मेदवार सिफारिस गर्न परिपत्र जारी भए पनि एक जना पनि जेन–जी उम्मेदवारलाई उम्मेदवार बनाउने निर्णय गर्न नसक्नु दुःखद र चिन्ताजनक भएको उल्लेख गरिएको छ।
त्यसैगरी, समानुपातिक बन्दसूचीमा ४० वर्षमुनिका कुनै पनि युवा समावेश नगरिनु पार्टीको युवाप्रति असंवेदनशीलताको स्पष्ट संकेत भएको उनीहरूको भनाइ छ।
पार्टी एकताको सन्दर्भमा विभिन्न तहका कमिटीहरू मर्ज गर्दा विधानमा व्यवस्था भएका प्रावधानहरू समेत बेवास्ता गरिएको र युवाको प्रतिनिधित्व झन् घट्दै गएको भन्दै ज्ञापनपत्रमा गम्भीर ध्यानाकर्षण गरिएको छ।
युवा नेता भुवन विष्टका अनुसार पार्टीका केन्द्रीय सचिवालय, संयोजन समिति लगायत सबै तहका कमिटीमा कम्तीमा ६० प्रतिशत युवाको सहभागिता सुनिश्चित गर्नुपर्ने माग गरिएको छ। उनले चुनावमा युवालाई जिम्मेवारी दिने तर अवसर नदिने प्रवृत्ति बढेकाले पहिलो चरणमा ज्ञापनपत्र बुझाइएको बताए।



कागजपत्र |
