स्वर्गद्वारी  दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ४ पुग्योे, घाइतेहरूलाई हेलिकप्टरबाट काठमाण्डौ ल्याउने तयारी


प्युठान – जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारी रहेका जीप प्युठानको स्वर्गद्वारी नजिकै भएको दुर्घटनामा मृत्यु हुनेको संख्या चार पूगेको छ ।

बुधवार दिउँसो भएको दुर्घटनामा प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत स्याङ्जाका ३८ वर्षीय श्याम न्यौपाने, कम्प्युटर अपरेटर सूर्यप्रसाद पन्थी, खरिदार ईश्वरी भण्डारी, मुसिकोट नगरपालिका ३ का २२ वर्षीय सवारी चालक केशव कार्कीको मृत्यु भएको हो ।

जीपमा एक जना अझै अड्किएको अवस्थामा रहेको घटनास्थलमा रहनुभएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) बुद्धि रानाले जानकारी दिए ।
दुर्घटनामा घाइते हुनेहरूमा रेसुङ्गा नगरपालिका ४ की २३ वर्षीया सुनिता कँडेल, २९ वर्षीया वसन्ती पौडेल, रेसुङ्गा नगरपालिका १ की गीता मुखिया, १२ वर्षीय अनिश बोहोरा रहेका छन् । यस्तै रेसुङ्गा नगरपालिका २ की २४ वर्षीया तारा भण्डारी, ६ वर्षीय आशिष भण्डारी, ३३ वर्षीय दिलबहादुर थापा, २७ वर्षीया कमला ज्ञवाली, १२ वर्षीय सार्थक ज्ञवाली, चार वर्षीया निकिता पौडेल र मल्लरानी गाउँपालिका ३ का ३० वर्षीय सन्दीप परियार घाइते भएका छन् ।

घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीमा उपचार भइरहेको छ । प्राथमिक स्वास्थ्य केन्द्रका अनुसार घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । घाइतेहरूको थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौ पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी भुषालले जानकारी दिए ।

प्रतिक्रिया