
सर्वदलीय सहमति: पहिलो बैठकमै सभामुख प्रस्ताव पेश हुने
काठमाडौं – गत २१ फागुनको निर्वाचनपछि गठन भएको प्रतिनिधिसभाको पहिलो बैठक बिहीबार बस्ने भएको छ । बैठकको पूर्वसन्ध्यामा सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा बसेको सर्वदलीय बैठकले पहिलो बैठकका लागि आवश्यक कार्यसूची तय गरेको हो ।
पहिलो बैठकमा अधिवेशन आह्वानसम्बन्धी सूचना वाचन गरिनेछ । त्यस्तै, प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबीच संसद्को पहिलो बैठकमै सभामुखको निर्वाचनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने सहमति पनि जुटेको छ ।
सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा उक्त सहमति बनेको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । उनका अनुसार सभामुख निर्वाचनसम्बन्धी प्रस्ताव पहिलो बैठकमा पेश हुने र त्यसपछि २० गते मनोनयन तथा २२ गते निर्वाचन गर्ने सहमति भएको छ ।
बैठकमा जेन–जीसहित विभिन्न आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्ने तथा दलका शीर्ष नेताहरूले शुभकामना मन्तव्य दिने पनि सहमति भएको छ ।
यसैगरी, मौजुदा प्रतिनिधिसभा नियमावली प्रतिस्थापन नभएसम्म पुरानै नियमावलीअनुसार बैठक सञ्चालन गर्ने र छिट्टै नयाँ नियमावली मस्यौदा तयार गर्ने निर्णय गरिएको छ । कार्यव्यवस्था समिति गठन तथा बैठकको अध्यक्षता गर्ने सदस्यको चयनबारे पनि छलफल भएको जनाइएको छ ।



कागजपत्र |
