
संसदीय दलको नेता छान्दै एमाले, को बन्ला ?
काठमाडौं – नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बसेको सचिवालय बैठकले आज दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो ।
पार्टी कार्यालयमा बस्ने गरी बैठक बोलाइएको सचिव महेश बस्नेतले जानकारी दिए । प्रतिनिधिसभाको पहिलो बैठक भोलि बस्दै छ । आज संसदीय दलको बैठकले दलको नेता चयन गर्ने तयारी छ ।
मंगलबार एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको विरोधमा राजनीतिक र कानुनी प्रतिवादलाई निरन्तरता दिने निर्णय गरेको थियो । संसदबाट पनि पार्टीले ओली पक्राउको विरोध गर्ने तयारी गरेको छ ।
एमाले संसदीय दल नेतामा रामबहादुर थापाको सम्भावना बढी रहेको एमाले स्रोतले जनाएको छ । तर, कतिपयले संसदमा युवाहरूको बलियो उपस्थिति रहेका कारण सुहाङ नेम्बाङलाई संसदीय दलको नेता बनाउनुपर्ने समेत आवाज उठेको छ ।



कागजपत्र |
