२४ घण्टाभित्र सबै बेटिङ एप बन्द गर्न निर्देशन


काठमाडौं-  सरकारले अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन सट्टेबाजी (बेटिङ) एप तथा वेबसाइटहरू २४ घण्टाभित्र बन्द गर्न प्रक्रिया अघि बढाएको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाको अध्यक्षतामा आइतबार बसेको बैठकले नेपाल दूरसञ्चार प्राधिकरणलाई तत्काल बेटिङ एप र सम्बन्धित वेबसाइट बन्द गर्न निर्देशन दिएको हो। मन्त्रीको निर्देशनलगत्तै मन्त्रालयले प्राधिकरणलाई औपचारिक पत्राचार गरेको छ।

प्राधिकरणका सहायक प्रवक्ता डा. प्रदीप पौड्यालका अनुसार बेटिङ एप बन्द गर्न अपरेटर्सहरूलाई निर्देशन दिइसकिएको र प्रक्रिया सुरु भइसकेको छ।

यसअघि मन्त्रिपरिषद्को चैत १३ गतेको बैठकले देशभित्र सञ्चालनमा रहेका अवैध अनलाइन सट्टेबाजी एपहरू बन्द गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीमार्फत २४ घण्टाभित्र सबै बेटिङ एप र वेबसाइट बन्द गर्ने लक्ष्य तय गरिएको हो।

 

प्रतिक्रिया