
क्रोएसिया पठाउने भन्दै ११ लाख ठगी, एक जना पक्राउ
काठमाडौं- क्रोएसिया पठाइदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर थिमी नगरपालिका–७ बस्दै आएका गुल्मीका ४५ वर्षीय रवीन्द्रजंग रायमाझी रहेका छन्। उनले वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइदिने भन्दै तीन जना पीडितबाट कुल ११ लाख ५० हजार रुपैयाँ असुलेर सम्पर्कविहीन भएको उजुरी परेको थियो।
उक्त उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले खोजतलास तीव्र पारेको थियो। सोही क्रममा उनलाई भक्तपुरको मध्यपुर थिमी नगरपालिका–४ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका रायमाझीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।



कागजपत्र |
