‘धुरन्धर २’ ले तोड्यो रेकर्ड, ७ दिनमै १००० करोड पार


काठमाडाैं-  बलिउड फिल्म ‘धुरन्धर २’ (धुरन्धरः द रिभेन्ज) ले प्रदर्शनको पहिलो सातामै विश्वव्यापी बक्स अफिसमा १ हजार करोड भारूभन्दा बढी कमाइ गर्दै सनसनी मच्चाएको छ। रणवीर सिंह अभिनीत जासूसी थ्रिलर फिल्मले रिलिज भएको सात दिनमै यो उपलब्धि हासिल गर्दै सर्वकालीन सफल फिल्महरूको सूचीमा आफूलाई मजबुत रूपमा उभ्याएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मले पहिलो सातामा विश्वव्यापी रूपमा १ हजार ६ करोड भारू कमाइ गरेको छ। यससँगै ‘धुरन्धर २’ अल्लु अर्जुनको ‘पुष्पा २’ पछि सबैभन्दा छिटो १००० करोड क्लबमा प्रवेश गर्ने भारतीय फिल्म बनेको छ।

भारतीय घरेलु बक्स अफिसमा पनि फिल्मको प्रदर्शन आक्रामक देखिएको छ। सात दिनको अवधिमा ‘धुरन्धर २’ ले भारतमा मात्रै ६२३ करोड भारू नेट (७४५ करोड ग्रस) कमाइ गरेको छ।

यो फिल्मले यसअघि ब्लकबस्टर मानिएका ‘बाहुबली २’, ‘आरआरआर’, ‘केजीएफ च्याप्टर २’, ‘कल्की २८९८ एडी’ तथा बलिउडका चर्चित फिल्म ‘पठान’ र ‘जवान’को रेकर्डलाई समेत उछिन्दै १००० करोड क्लबमा छिटो प्रवेश गरेको छ।

विश्लेषकहरूका अनुसार फिल्मले शाहरूख खान अभिनीत ‘पठान’ र प्रभासको ‘कल्की २८९८ एडी’ (दुवैको करिब १०५० करोड विश्वव्यापी कमाइ) को आँकडा समेत छिट्टै पार गर्ने अपेक्षा गरिएको छ।

आदित्य धरको निर्देशनमा बनेको ‘धुरन्धर २’ मा रणवीर सिंहसँगै आर माधवन, अर्जुन रामपाल, संजय दत्त, सारा अर्जुन र राकेश बेदीलगायत कलाकारहरूको अभिनय रहेको छ।

यसअघि रिलिज भएको ‘धुरन्धर’ ले विश्वव्यापी रूपमा करिब १३०० करोड भारू कमाएको थियो। पहिलो भाग रिलिज भएको तीन महिनापछि सिक्वेल ‘धुरन्धर २’ प्रदर्शनमा आएको हो, जसले अझ ठूलो सफलता हासिल गर्ने संकेत देखाएको छ।

 

प्रतिक्रिया