
काठमाडौंमा गहना चोरी गिरोह फन्दामा, भारतीय नागरिक पनि संलग्न
काठमाडौं- राजधानीको चन्द्रागिरि क्षेत्रबाट सुनका गहना र मोबाइल चोरी गरी तिनलाई पगालेर स्वरूप परिवर्तन गर्ने संगठित गिरोह प्रहरीको फन्दामा परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले चोरीका गहना ढिक्का बनाउँदै गरेको अवस्थामा एक भारतीय नागरिकसहित पाँच जनालाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार फागुन २८ गते चन्द्रागिरि नगरपालिका–१५ तिनथानस्थित एक घरबाट करिब १.५ तोलाको सुनको सिक्री, १ तोलाको औँठी, आधा तोलाको झुम्का, तिलहरी, दुई थान मोबाइल तथा ५ हजार रुपैयाँ नगद चोरी भएको उजुरी दर्ता भएको थियो। सोही उजुरीलाई आधार बनाएर सूक्ष्म अनुसन्धान तथा निगरानी अघि बढाएको प्रहरीले चैत १० गते काठमाडौँ महानगरपालिका–२६ गल्कोपाखास्थित बागमती ड्राइभिङ सेन्टर अगाडिबाट गिरोहलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा धादिङका २२ वर्षीय प्रसन्न अधिकारी, नवलपरासी पूर्वका २८ वर्षीय प्रदीप गुरुङ, ओखलढुङ्गाका २९ वर्षीय लाक्पा शेर्पा, रसुवाका २८ वर्षीय सागर कामी र भारत महाराष्ट्रका २८ वर्षीय गौरव गुणाजी मोरे रहेका छन्।
उनीहरूको साथबाट चोरीमा प्रयोग गरिएको बा ६६ प १७६६ नम्बरको मोटरसाइकल, दुई थान मोबाइल तथा पगालेर ढिक्का बनाइएको २३.३० ग्राम सुन जस्तो देखिने पहेँलो धातु बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार पक्राउ परेका पाँचै जनामाथि काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी प्रहरी वृत्त थानकोटमार्फत थप अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानबाट भारतीय नागरिक मोरेले चोरीका गहना पगाल्ने र स्वरूप परिवर्तन गर्ने काममा सक्रिय भूमिका खेलेको खुलेको छ।



कागजपत्र |
