
विराटनगरमा ग्यास सिलिन्डर विस्फोट, आमा–छोरा घाइते
विराटनगर- विराटनगर महानगरपालिका–१४ जतुवामा बुधबार बिहान भएको ग्यास सिलिन्डर विस्फोटमा आमा–छोरा घाइते भएका छन्।
स्थानीय टंक खत्रीको घरमा खाना पकाउने क्रममा बिहान करिब १० बजेतिर अचानक सिलिन्डर विस्फोट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार ४२ वर्षीया निर्मला खत्री र उनका १९ वर्षीय छोरा धीरज खत्री विस्फोटमा परेर घाइते भएका हुन्। घटनालगत्तै दुवैलाई उद्धार गरी उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ।
अस्पताल स्रोतका अनुसार निर्मलाको अनुहार, छाती र हातमा गरी शरीरको करिब १८ प्रतिशत भाग जलेको छ भने धीरजको करिब ५ प्रतिशत भागमा जलन भएको छ। चिकित्सकहरूले दुवैको अवस्था सामान्य रहेको जानकारी दिएका छन्।
प्रहरीका अनुसार खाना पकाउने क्रममा ग्यास चुहावट वा प्राविधिक गडबडीका कारण विस्फोट भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
विस्फोटको ठूलो आवाजले आसपासका बासिन्दा त्रसित बनेका थिए।



कागजपत्र |
