तीन वर्षदेखि अधुरो विद्यालय भवन, टिनको कोठामा पढ्न बाध्य विद्यार्थी


पर्वत – पर्वतको विहादी गाउँपालिका–४ वहाकीस्थित रम्बादेवी माता आधारभूत विद्यालयको भवन निर्माण तीन वर्षदेखि अधुरै अवस्थामा रहेको छ।

लिम्सिङमा निर्माणाधीन आठ कोठे पक्की विद्यालय भवन आर्थिक अभावका कारण पूरा हुन नसकेको हो। उक्त भवन शिक्षा मन्त्रालय अन्तर्गतको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ मार्फत विनियोजित ३६ लाख रुपैयाँ बजेटमा सुरु गरिएको थियो। तर थप बजेट व्यवस्थापन हुन नसक्दा निर्माण कार्य रोकिएको छ।

भवन निर्माण अधुरो हुँदा विद्यालयका विद्यार्थी कष्टकर अवस्थामा अध्ययन गर्न बाध्य भएका छन्। चार कक्षासम्म पढाइ हुने विद्यालयमा हाल १९ जना विद्यार्थी अध्ययनरत छन्। उनीहरूलाई अस्थायी रूपमा भुइँतलामा टिनले बारिएको कोठामा राखेर पढाइ भइरहेको छ।

टिनको कोठामा पढाउँदा हावाहुरीको समयमा जोखिम बढ्ने भन्दै अभिभावक र शिक्षक चिन्तित छन्। साना बालबालिकालाई असुरक्षित संरचनामा राख्नुपर्दा कुनै पनि बेला दुर्घटना हुन सक्ने डर रहेको उनीहरूको भनाइ छ।

प्रतिक्रिया