मिटरबक्सका लागि वडाध्यक्ष नै मध्यरातसम्म धर्ना बसेपछि…


सल्यान- सल्यानमा एउटा अनौठो तर गम्भीर सन्देश दिने घटना सार्वजनिक भएको छ। आइतबार कपुरकोट गाउँपालिका–३ का वडाअध्यक्ष प्रदीप खड्का आफ्ना वडाका तीन जना सेवाग्राहीका लागि विद्युत मिटर लिन वितरण केन्द्र पुगेका थिए। आवश्यक सबै प्रक्रिया पूरा गरे पनि कर्मचारीले तत्काल मिटर दिन नमिल्ने जवाफ दिएपछि उनले फर्किने निर्णय गरेनन्। बरु, त्यहीँ बसेर विरोध जनाउने बाटो रोजे।

साँझ करिब ५ बजेदेखि सुरु भएको उनको धर्ना राति अबेरसम्म जारी रह्यो। अँध्यारो बढ्दै गयो, तर उनी टसमस भएनन्। अन्ततः उनी भुइँमै झोलालाई सिरानी बनाएर सुते।

दिनभर उपलब्ध नहुने भनिएको मिटर अन्ततः राति करिब साढे १० बजे सेवाग्राहीका लागि उपलब्ध गराइयो। त्यसपछि मात्रै वडाअध्यक्ष खड्काले आफ्नो धर्ना अन्त्य गरे।

जनप्रतिनिधि आफैं धर्नामा बस्नुपर्ने अवस्था सामान्य नभएको भन्दै यस घटनाले सेवा प्रणालीभित्रको कमजोरी उजागर गरेको छ। यदि जनप्रतिनिधि नै यस्तो संघर्ष गर्न बाध्य छन् भने सर्वसाधारण नागरिकले झेल्ने सास्ती कस्तो होला भन्ने प्रश्न उठेको छ।

सल्यानबाट निर्वाचित प्रतिनिधि सभा सदस्य रमेश मल्लले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले वडाअध्यक्ष प्रदीप खड्काले तीन थान मिटरका लागि मध्यरातसम्म धर्ना बस्नुपरेको विषयले चिन्ता बढाएको उल्लेख गरेका छन्।

उनका अनुसार बेलुकी साढे ६ बजे खड्काले आफूलाई धर्नामा बसेको जानकारी गराएपछि उनले तुरुन्तै प्रमुख जिल्ला अधिकारीमार्फत सम्बन्धित कार्यालय प्रमुखलाई सम्पर्क गरेका थिए।

 

प्रतिक्रिया