
वैदेशिक रोजगारीको नाममा ठगी, ५ जना पक्राउ
काठमाडौं– आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देश पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गर्ने ५ जना पक्राउ परेका छन्।
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा काठमाडौं उपत्यकाबाट ५ जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर नगरपालिका–७ बस्ने बर्दिया घर भएका ३६ वर्षीय अर्जुन बहादुर पौडेल, ललितपुर महालक्ष्मी नगरपालिका–७ बस्ने सर्लाही घर भएका ४६ वर्षीय डिल्ली राम भुजेल, काठमाडौं महानगरपालिका–१६ बस्ने ४३ वर्षीया उमा गुरुङ, ललितपुर महानगरपालिका–७ बस्ने कास्की घर भएका ३३ वर्षीय आशिष महत र भक्तपुर मध्यपुर थिमी नगरपालिका–४ बस्ने रामेछाप घर भएकी ३५ वर्षीया संगिता श्रेष्ठ रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले विभिन्न देश पठाइदिने बहानामा पीडितहरूबाट ठूलो रकम असुलेका थिए। अर्जुनले क्रोएसिया पठाइदिने भन्दै एक जनाबाट ३ लाख ३० हजार रुपैयाँ, डिल्लीले माल्दिभ्स पठाइदिने भन्दै २ लाख ९९ हजार रुपैयाँ, उमाले बेलायत पठाइदिने भन्दै २ लाख रुपैयाँ असुलेकी थिइन्।
त्यसैगरी आशिषले बेलायत पठाइदिने भन्दै एक जनाबाट २३ लाख रुपैयाँ लिएका थिए भने संगिताले पोर्चुगल पठाइदिने भन्दै ३ लाख ६८ हजार रुपैयाँ उठाएर सम्पर्कविहीन भएका थिए।
पीडितहरूको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले आइतबार उमा र संगितालाई काठमाडौं महानगरपालिका–१२ बाट तथा आशिषलाई काठमाडौं महानगरपालिका–१० बाट पक्राउ गरेको हो। यसअघि शुक्रबार अर्जुनलाई काठमाडौं महानगरपालिका–४ बाट र डिल्लीलाई काठमाडौं महानगरपालिका–९ बाट पक्राउ गरिएको थियो।
पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।



कागजपत्र |
