
पहिरोले कान्ति लोकपथ अवरुद्ध, सवारी आवागमन ठप्प
हेटौँडा – शुक्रबार अपराह्न परेको वर्षापछि आएको पहिरोका कारण कान्ति लोकपथ अवरुद्ध भएको छ। मकवानपुरको भीमफेदी गाउँपालिका–८ मा पहिरो खस्दा साँझ करिब ५ बजेदेखि सडक पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
पहिरोका कारण सो सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको प्रहरीले जानकारी दिएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय ठिंगनबाट टोली खटाइएको छ र सडक खुलाउने प्रयास जारी रहेको जनाइएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार स्थानीय तह तथा डिभिजन सडक कार्यालयसँग समन्वय गरी अवरुद्ध सडक यथाशीघ्र सञ्चालनमा ल्याउने काम भइरहेको छ।
उक्त सडकखण्डमा हाल स्तरोन्नतिको कामअन्तर्गत सडक चौडाइ विस्तार र कालोपत्रे गर्ने कार्य भइरहेको छ। पहिरो खसेको स्थान इलाका प्रहरी कार्यालय ठिंगनबाट करिब ६ किलोमिटर उत्तरतर्फ पर्ने बताइएको छ।



कागजपत्र |
