मध्यपूर्वको युद्ध रोक्न माग गर्दै अमेरिकी दूतावास अगाडि प्रदर्शन


काठमाडौं — अमेरिकी दूतावास अगाडि आज मानवअधिकारकर्मीहरूले प्रदर्शन गर्दै अमेरिका–इजरायल र इरानबीच तीन सातादेखि जारी युद्ध तत्काल रोक्न माग गरेका छन्। विश्व शान्ति नै खलबलिने गरी युद्ध विस्तार भइरहेको भन्दै प्रदर्शनकारीहरूले चर्को विरोध जनाएका हुन्।

प्रदर्शनको नेतृत्व मानव अधिकार तथा शान्ति समाजले गरेको थियो। सो संस्थाले अमेरिकी दूतावासमार्फत डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै औपचारिक पत्रसमेत लेखेकाे छ।

संस्थाकी सभापति रेनुका पौडेलद्वारा हस्ताक्षरित पत्रमा युद्ध विस्तार विश्व शान्तिका लागि गम्भीर खतरा भएको उल्लेख गर्दै अमेरिका/इजरायल र इरानबीचको जारी युद्ध तत्काल अन्त्य गर्न विशेष पहल गर्न आग्रह गरिएको छ। पत्रमा अमेरिकाले युद्धको पक्षधर नभई शान्तिको अग्रणी भूमिका निर्वाह गर्नुपर्ने अपेक्षा पनि व्यक्त गरिएको छ।

मानव अधिकार तथा शान्ति समाजले विगत तीन दशकदेखि आणविक अस्त्रको विश्वव्यापी उन्मूलन र युद्ध निषेधका पक्षमा अभियान चलाउँदै आएको जनाउँदै, अहिलेको द्वन्द्वले निर्दोष नागरिकको जीवन जोखिममा परेको बताएको छ। साथै, संस्थाले इरानलाई समेत आणविक महत्वाकांक्षा त्याग्न पटक–पटक आह्वान गरिरहेको स्मरण गराएको छ।

प्रदर्शनका क्रममा ‘युद्ध होइन, शान्ति चाहिन्छ’ जस्ता नाराबाजी गरिएको थियो। सहभागीहरूले अन्तर्राष्ट्रिय समुदायले तत्काल हस्तक्षेप गरी द्वन्द्व समाधान गर्नुपर्ने माग पनि गरेका छन्।

प्रतिक्रिया