वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने तीन जना पक्राउ


काठमाडौं-  वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले चितवन भरतपुर महानगरपालिका–१५ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१५ बस्दै आएकी ४९ वर्षीया कमला देवी सुनुवार, सिन्धुली कमलामाई नगरपालिका–७ स्थायी घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका–४ बस्दै आएकी २९ वर्षीया सविना खड्का र काठमाडौं दक्षिणकाली नगरपालिका–९ स्थायी घर भई हाल टोखा नगरपालिका–११ बस्ने ४१ वर्षीय अम्बर गुरुङलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार कमला देवी सुनुवारले आकर्षक तलबमा क्रोएसिया पठाइदिने भन्दै दुई जनाबाट ४ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ। त्यस्तै सविना खड्काले अमेरिका पठाइदिने भन्दै एक जनाबाट १ लाख रुपैयाँ लिएको उजुरी परेको छ। अम्बर गुरुङले पनि क्रोएसिया पठाइदिने भन्दै एक जनाबाट ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

बेरोजगार युवाहरूलाई विदेश पठाइदिने प्रलोभन देखाएर रकम लिएपछि लामो समय सम्पर्कविहीन बनेको उजुरीका आधारमा प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया