कुवेतमा भिजिट भिसावाहक सबैको भिसा एक महिना थप


काठमाडौं – कुवेत सरकारले भिजिट भिसामा रहेका नेपालीसहित सबै विदेशी नागरिकको भिसा एक महिनाका लागि थप गर्ने निर्णय गरेको छ। अमेरिका/इजरायल र इरानबीचको तनावका कारण हवाई उडान प्रभावित भएपछि यस्तो निर्णय गरिएको हो।

कुवेतस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिअनुसार कुवेतमा भिजिट भिसामा रहेका सबै विदेशी नागरिकको भिसा अवधि स्वतः एक महिना थप गरिएको छ।

त्यस्तै कुवेत बाहिर रहेका कुवेतको सिभिल आईडीधारकहरूको हकमा पनि केही प्रावधान परिमार्जन गरिएको दूतावासले जनाएको छ। विगतमा कम्पनीमा कार्यरत व्यक्तिहरूले ६ महिनाभन्दा बढी र घरेलु कामदारहरूले ४ महिनाभन्दा बढी कुवेत बाहिर बसेमा सिभिल आईडी निष्क्रिय हुने व्यवस्था थियो। हालको परिस्थितिलाई ध्यानमा राख्दै उक्त अवधिमा थप तीन महिनाको समय दिइएको छ।

दूतावासका अनुसार भिसा अवधि थप गर्ने व्यवस्था २०२६ फेब्रुअरी २८ देखि लागू भएको हो।

यस बाहेक अन्य भिसाधारकहरूले आफ्नो भिसा अवधि समाप्त हुनुअघि रोजगारदातासँग सम्पर्क गरी भिसा नवीकरण गर्न पनि दूतावासले अनुरोध गरेको छ।

साथै कुवेतका आधिकारिक निकायबाट जारी हुने सूचना, निर्देशन तथा समाचारप्रति सजग रहन दूतावासले नेपाली नागरिकलाई आग्रह गरेको छ। कुवेतको हवाई क्षेत्र पूर्ण रूपमा सञ्चालनमा आएपछि मात्र नियमित उडान सुरु हुने भएकाले अद्यावधिक जानकारीका लागि नागरिक उड्डयन निर्देशनालयको वेबसाइट हेर्न पनि दूतावासले आग्रह गरेको छ।

प्रतिक्रिया