निर्वाचन सुरक्षामा उत्कृष्ट कार्य गरेकोमा महानिरीक्षक अर्यालद्वारा कर्मचारीहरुको प्रशंसा


काठमाडौं-  सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुरक्षा व्यवस्था उत्कृष्ट ढंगले सञ्चालन गरेकोमा सशस्त्र प्रहरी बल नेपालका कर्मचारी र मातहत इकाईहरुलाई धन्यवाद दिएका छन्।

सोमबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित कार्यक्रममा अर्यालले विभाग प्रमुख, अनुगमनमा परिचालित वरिष्ठ उपरीक्षक, उपरीक्षक, भर्चुअल माध्यमबाट सहभागी सबै प्रदेशका बाहिनी प्रमुख तथा कार्यालय प्रमुखहरूलाई निर्वाचन सुरक्षा सफलतापूर्वक सम्पन्न गरेकोमा हार्दिक आभार व्यक्त गरे।

महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बलको अनुशासन, इमानदारी र देशप्रतिको समर्पणको प्रशंसा गर्दै भने, “प्रतिनिधि सभा सदस्य निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न परिचालित सबै सशस्त्र प्रहरी कर्मचारीहरूको योगदान सराहनीय छ।”

उनले फागुन २१ गते सम्पन्न निर्वाचन सुरक्षा चुनौतीपूर्ण भए पनि सफलतापूर्वक सम्पन्न भएको भन्दै कर्मचारीहरूको पेशागत दक्षता उच्च मूल्याङ्कन योग्य रहेको बताए। साथै, संगठनको तटस्थ छवि कायम राख्न सबै कर्मचारीले आचरण विपरित कार्य नगर्न र संगठनविरुद्ध हुने कुनै पनि गतिविधि नगर्न निर्देशन दिए।

अर्यालले भने, “निर्वाचनका बेला होस् वा अन्य समयमा, सीमामा परिचालन हुँदा सम्बन्धित सरोकारवाला निकाय र समकक्षीसँग समन्वय गरेर काम गर्नु आवश्यक छ। अनुगमनमा खटिएका अधिकारीहरूले कार्यसम्पादन प्रतिवेदन पेश गर्ने र त्यसका आधारमा आगामी निर्वाचनमा सुधार गरिनेछ।”

प्रतिक्रिया