बालेन सुरक्षा चेतावनीपछि झापा नपुगी फर्किएका हुन् : सचिवालय


काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का झापा–५ का उम्मेदवार बालेन्द्र शाह (बालेन) सुरक्षा चेतावनीका कारण झापा नपुगी बीचबाटै काठमाडौं फर्किएका छन्।

बालेनका सचिवालय सदस्य सुरेन्द्र बजगाईंका अनुसार सुरक्षा निकायको उच्च तहबाट झापा नजान सुझाव दिइएपछि उनी हेलिकोप्टरबाट फर्किएका हुन्।

बालेनले बिहीबार बिहान काठमाडौंमा मतदान गरेपछि हेलिकोप्टरमार्फत झापा जाने तयारी गरेका थिए। तर सुरक्षा जोखिमको सूचना आएपछि उनी बीचबाटै फर्किएको सचिवालयले जनाएको छ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार बालेनले बुधबार नै काठमाडौं–झापा रुटमा हेलिकोप्टर प्रयोग गर्न आयोगबाट अनुमति लिएका थिए।

आयोगले उक्त रुटमा मात्र हेलिकोप्टर प्रयोग गर्न दिने गरी अनुमति दिएको थियो। साथै हेलिकोप्टर प्रयोग गर्दा लाग्ने खर्चको छुट्टै अभिलेख आयोगले मागेमा उपलब्ध गराउनुपर्ने व्यवस्था समेत गरिएको जनाइएको छ।

प्रतिक्रिया