निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित हुन्छ : गृहमन्त्री


काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर सुरक्षा व्यवस्था पूर्ण रूपमा सुनिश्चित गरिएको दाबी गरेका छन्। बिहीबार हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनबारे आज गृह मन्त्रालयमा सञ्चारकर्मीसँगको भेटघाटमा बोल्दै उनले निर्वाचनलाई प्रभावित पार्ने कुनै पनि गैरकानुनी गतिविधि सह्य नहुने स्पष्ट पारे।

गृहमन्त्री अर्यालले निर्वाचनमा गैरकानुनी काम गर्ने जो–कोहीलाई नियन्त्रणमा लिएर अनुसन्धान, अभियोजन र कानुनी कारबाही गरिने बताए।
उनले भने, “प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि एकीकृत सुरक्षा योजना पारित भइसकेको छ। सोही योजनाअनुसार सबै सुरक्षा संयन्त्र परिचालित छन् र सम्पूर्ण सुरक्षाकर्मीहरू मतदान स्थलमा पुगिसकेका छन्।”

उनका अनुसार देशभर सुरक्षा अवस्थालाई नियन्त्रणमा राख्दै सहजीकरण गर्ने गरी व्यापक सुरक्षा व्यवस्था मिलाइएको छ। “मतदान, मतपेटिका ढुवानीदेखि मतगणनासम्म सुरक्षाको पूर्ण प्रत्याभूति गरिएको छ,” उनले जोड दिए।

गृहमन्त्री अर्यालले सुरक्षा योजनाअनुसार मतपेटिका सुरक्षित रूपमा सम्बन्धित स्थलसम्म पुर्‍याइने जानकारी दिए। उनले यसपटकको निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित हुने विश्वास व्यक्त गर्दै नागरिकलाई भयमुक्त वातावरणमा मतदान गर्ने अधिकार सुनिश्चित गरिएको बताए।

“सरकारले गराएको यसपटकको निर्वाचन अघिल्ला निर्वाचनहरूभन्दा अझ सुदृढ हुन्छ,” उनले भने, “निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित हुनेछ। नागरिकले डरत्रासविना मतदान गर्न पाउने वातावरण हामीले सुनिश्चित गरेका छौँ।”

गृहमन्त्री अर्यालका अनुसार अहिलेको निर्वाचनले लोकतन्त्रको गुणस्तर थप सुदृढ गर्नुपर्नेछ। “यो निर्वाचनले राजनीतिक सुशासन कायम गर्न ठूलो फड्को मार्नेछ,” उनले भने, “त्यसैले सम्पूर्ण मतदातालाई सुझबुझपूर्ण र जिम्मेवार ढंगले मतदान गर्न अनुरोध गर्दछु।”

प्रतिक्रिया