यी ६ किसिमका परिचयपत्र देखाएर मतदान गर्न पाइने


काठमाडौं- बिहीबार देशभर प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदै छ । निर्वाचन आयोगले तोकेका मतदान केन्द्रहरूमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सकिनेछ ।

मतदानका लागि जाँदा मतदाताले आफ्नो परिचय खुल्ने आधिकारिक कागजात अनिवार्य रूपमा साथमा लैजानुपर्ने आयोगले जनाएको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई ६ प्रकारका परिचयपत्रका आधारमा मतदान गर्न दिने व्यवस्था गरिएको छ ।

उनका अनुसार निर्वाचन आयोगले उपलब्ध गराएको मतदाता परिचयपत्र भए सोही कागजात प्रयोग गर्नुपर्नेछ । यदि उक्त परिचयपत्र नभएमा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) मध्ये कुनै एक कागजात प्रस्तुत गरी मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।

“मतदान गर्न जानुअघि मतदाताले आफ्नो मतदान केन्द्र सुनिश्चित गर्नुपर्छ र परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लैजानुपर्छ,” सूचना अधिकारी घिमिरेले भने, “मतदाता परिचयपत्र भए त्यसैलाई प्राथमिकता दिनुपर्छ, नभए अन्य वैकल्पिक कागजातमध्ये कुनै एउटा भए पनि मतदान गर्न पाइन्छ।”

उनले सबै मतदातालाई निर्धारित समयमा आफ्नै मतदान केन्द्रमा पुगेर परिचय खुल्ने कागजातसहित मतदान गर्न आग्रह गरे ।

आयोगका अनुसार मतदान केन्द्रमा महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ । मतदाताले सम्बन्धित लाइनमा बसेर पालोअनुसार मतदान गर्नुपर्नेछ ।

यस्तै, शारीरिक रूपमा अशक्त व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला र आफैँले मतदान गर्न कठिनाइ हुने व्यक्तिहरूका लागि विशेष व्यवस्था गरिएको छ । यस्ता मतदातालाई लाइनमा बस्न नपर्ने गरी छुट्टै सहजीकरणको व्यवस्था मिलाइएको सूचना अधिकारी घिमिरेले जानकारी दिए ।

यस समूहका मतदाताले मतदान अधिकृत, सहायक मतदान अधिकृत, खटिएका कर्मचारी वा स्वयंसेवकबाट आवश्यक सहयोग लिन सक्नेछन् । आयोगले मतदान कार्यमा खटिएका कर्मचारीहरूलाई अशक्त तथा विशेष आवश्यकता भएका मतदातालाई सहज, सुरक्षित र सम्मानजनक वातावरणमा मतदान गराउन निर्देशनसमेत दिएको छ ।

निर्वाचन आयोगले सबै मतदातालाई अनुशासित, मर्यादित र शान्तिपूर्ण रूपमा मतदान प्रक्रियामा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न आह्वान गरेको छ ।

प्रतिक्रिया