
२७ अमेरिकी अड्डामा इरानले आक्रमण गरेपछि ट्रम्पले दिए जवाफ दिने चेतावनी
काठमाडाैं- इरानको इरानी क्रान्तिकारी गार्डले अमेरिका र इजरायलद्वारा गरिएका हवाई आक्रमणको प्रतिकारस्वरूप पश्चिम एसिया तथा इजरायलमा अवस्थित २७ वटा अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै आक्रमणको छैटौँ लहर सुरु गरेको घोषणा गरेको छ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार आईआरजीसीले यस चरणमा विभिन्न दायराका मिसाइल तथा ड्रोन प्रयोग गरी आक्रमण गरिएको जनाएको छ। ती आक्रमणहरू यस क्षेत्रमा रहेका अमेरिकी र इजरायली सैन्य अड्डामाथि केन्द्रित रहेको दाबी गरिएको छ।
यता, संयुक्त राज्य अमेरिका का राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानलाई कडा चेतावनी दिएका छन्। सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा पोस्ट गर्दै ट्रम्पले इरानले आज ठूलो आक्रमण गर्ने चेतावनी दिएको उल्लेख गर्दै त्यसो गरे अमेरिकाले अभूतपूर्व सैन्य बल प्रयोग गर्ने चेतावनी दिएका हुन्।
उनले लेखेका छन्, “इरानले आजसम्मकै सबैभन्दा शक्तिशाली आक्रमण गर्ने कुरा गरेको छ। उनीहरूले त्यसो गर्नु हुँदैन, किनकि यदि गरे भने अमेरिकाको जवाफ यस्तो हुनेछ, जुन उनीहरूले पहिले कहिल्यै देखेका छैनन्।”
यस घटनाक्रमसँगै पश्चिम एसिया क्षेत्रमा तनाव चरम विन्दुमा पुगेको छ भने इजरायल लगायत क्षेत्रीय सुरक्षास्थिति थप जटिल बन्दै गएको छ।



कागजपत्र |
