
सेनाको गस्ती: कतै मोटरसाइकलमा, कतै घोडामा
काठमाडाैं- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण, भयरहित र निष्पक्ष बनाउन नेपाली सेनाले सुरक्षा गस्ती सुरु गरेको छ।
धादिङमा भौगोलिक रूपमा चुनौतीपूर्ण र सडक सञ्जाल सीमित भएका क्षेत्रहरूमा छिटो पहुँच सुनिश्चित गर्न सेनाले मोटरसाइकल गस्ती सुरु गरेको छ। भैरव गण, गजुरीका गणपति असीम श्रेष्ठका अनुसार, सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण, आकस्मिक अवस्थाको तत्काल प्रतिकार्य र रणनीतिक क्षेत्र निगरानीका लागि सेनाले २ समूहको मोबाइल पेट्रोलिङ सञ्चालन गर्नेछ। मोटरसाइकल गस्तीले गाउँ बस्ती, मतदान केन्द्र आसपास र मुख्य सडक खण्डहरूमा नियमित उपस्थितिलाई सहज बनाउने र सुरक्षा थप सुदृढ गर्ने अपेक्षा गरिएको छ। धादिङमा सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र निर्वाचन प्रहरी चौबिसै घण्टा गस्ती गर्दै छन्।
अर्कोतर्फ, मुगु जिल्लाको दुर्गम क्षेत्रहरूमा सेनाले घोडा चढेर गस्ती सुरु गरेको छ। मुगुम, कार्माराेङ, डाेल्फु लगायत हिमाली बस्तीमा सुरक्षा पहुँच सुनिश्चित गर्न घोडा मार्फत नियमित तथा विशेष गस्ती सञ्चालन गरिएको छ। रारा राष्ट्रिय निकुञ्जका हनुमानध्वज गुल्मका गुल्मपति खड्ग बहादुर श्रेष्ठका अनुसार, हालसम्म जिल्लाभित्रका सबै मतदान स्थलमा सुरक्षा निरीक्षण पूरा भइसकेको छ। दुर्गम र पैदलमार्गमात्र उपलब्ध क्षेत्रहरूमा समेत घोडा प्रयोग गरी सुरक्षा निगरानी जारी रहने उनले बताए।



कागजपत्र |
