
नेपाल–भारतबीच जैविक विविधता संरक्षण समझदारीपत्रमा हस्ताक्षर
काठमाडौं- नेपाल र भारत सरकारबीच जैविक विविधता संरक्षणका लागि द्विपक्षीय समझदारीपत्रमा बुधबार नयाँदिल्लीमा हस्ताक्षर भएको छ। नेपालका माधवप्रसाद चौलागाईं र भारतका भुपेन्द्र यादव को उपस्थिति रहेको उक्त अवसरमा समझदारीपत्रमा नेपालका तर्फबाट डा. शंकरप्रसाद शर्मा र भारतका तर्फबाट तन्मय कुमार ले हस्ताक्षर गरेका थिए।
वन मन्त्रालयका प्रवक्ता डा. महेश्वर ढकाल का अनुसार, सो अवसरमा दुवै देशका उच्च पदस्थ अधिकारी उपस्थित थिए।
नेपाल र भारत संयुक्त राष्ट्रसंघअन्तर्गत जैविक विविधता र वातावरण संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको पक्षराष्ट्र हुन्। दुवै राष्ट्रको सीमा जोडिएको क्षेत्रमा संरक्षित क्षेत्र र जैविक मार्ग अवस्थित छन्, जहाँ हात्ती, गैंडा, बाघलगायतका वन्यजन्तुले स्वतन्त्र रूपमा सीमा पार गर्ने गर्छन्।
समझदारीपत्रले दुवै देशलाई संरक्षित क्षेत्र, जैविक विविधता र वन्यजन्तु अपराध नियन्त्रणमा सहकार्य र समन्वय गर्न, साझा रणनीति अवलम्बन गर्न र ‘फिल्ड’ मा कार्यरत कर्मचारीको क्षमता विकास गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। वन तथा वातावरणमन्त्री चौलागाईंका अनुसार, यसले सीमा पारमा हुने अवैध वन्यजन्तु शिकार तथा व्यापार नियन्त्रण, अनुसन्धान, अनुगमन र स्थानीय जनचेतना अभिवृद्धि गर्न पनि भूमिका खेल्नेछ।
समझदारीपत्र कार्यान्वयनले दुवै देशका सीमा आसपास नियमित गस्ती, बैठक आयोजना, अनुभव र ज्ञानको आदानप्रदान, वन्यजन्तु तथा अवैध व्यापारसम्बन्धी सूचना तुरुन्त साझा गर्न र असल अभ्यासको विकासमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।



कागजपत्र |
