
धादिङ बस दुर्घटना : छानबिन समिति घटनास्थल पुग्यो
धादिङ- धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ चरौंदी नजिक भैंसेडाँडामा आइतबार राति भएको बस दुर्घटनाले १९ जनाको ज्यान लिएको घटनापछि सरकारले सक्रियता देखाएको छ। पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबाहक बस दुर्घटना भए लगत्तै सहसचिव ऋषिराम तिवारीको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको छ। टोलीले घटनास्थल पुगेर प्रारम्भिक अध्ययन सुरु गरिसकेको छ।
समितिमा नेपाल प्रहरीका एसएसपी भुवनेश्वर तिवारी, सशस्त्र प्रहरी बलका एसएसपी भरत खनिया, सडक विभागका सीडीई राकेश महर्जन, मन्त्रालयका उपसचिव वर्तमान पौडेल, यातायात व्यवस्था विभागका निर्देशक श्रीकान्त यादव र यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष सरोज सिटौला सदस्य रहेका छन्। टोलीलाई एक साताभित्र प्रतिवेदन बुझाउन समयसीमा दिइएको छ।
दुर्घटना अध्ययनका क्रममा सडकको भौगोलिक अवस्था, सवारीको प्राविधिक परीक्षण, चालक व्यवस्थापन र सम्भावित मानवीय त्रुटि मूल्याङ्कन गरिँदैछ।
सवारी अनुगमन विशेषज्ञ डॉ पुष्पराज पन्त भन्छन्, “समस्या केवल चालकको त्रुटि वा सवारीको अवस्था मात्र होइन। रात्री बस सञ्चालन, चालकको कार्यघण्टा, अनिवार्य विश्राम, सडक जोखिम मूल्यांकन र नियमित अनुगमन जस्ता विषय दीर्घकालीन समाधानका आधार हुन्।”
बेनीघाटको दुर्घटनास्थल घुमाउरो, उकालो–ओरालो र साँघुरा सडकको लागि चिनिएको छ। स्थानीयवासीका अनुसार त्यहाँ पहिलेदेखि साना–ठूला दुर्घटना भइरहेका थिए। तर जोखिम चिनिएको क्षेत्रका लागि पूर्वतयारी पर्याप्त नभएको देखिन्छ।
विशेषगरी रात्री समयमा सवारी साधनको गति अनुगमन प्रणाली अत्यन्त आवश्यक देखिन्छ। घुमाउरो र उकालो–ओरालो सडकपछि आउने समतल र सोझो सडकखण्डमा समेत अनुगमन लागू गर्नुपर्ने बताइएको छ। प्रदेश यातायात व्यवस्थापन ऐनमा जोखिमपूर्ण सडक खण्डमा राति काम गर्ने घुम्ती निरीक्षकको प्रावधान भए पनि यसको पूर्ण कार्यान्वयन हुन अझै बाँकी छ।



कागजपत्र |
