एकै जिल्लामा ३ निर्वाचन प्रहरीको मृत्यु


बैतडी –  बैतडीमा खटिएका एक निर्वाचन प्रहरीको मृत्यु भएको छ। मेलौली नगरपालिका–६ का ३८ वर्षीय राजेन्द्र प्रसाद भट्ट (युवराज) को मृत्यु भएको हो।

निर्वाचन प्रहरी तालिम पूरा गरेपछि भट्टलाई इलाका प्रहरी कार्यालय मेलौली मातहत खटाइएको थियो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार सोमबार साँझ ड्युटी सकेर घर फर्किएका भट्ट एकाएक घरमै बेहोस भएका थिए।

बेहोस भएपछि उनलाई एम्बुलेन्समार्फत केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो। तर उपचारका लागि पुर्‍याउँदा चिकित्सकले राति १२ बजेर ५ मिनेटमा भट्टलाई मृत घोषणा गरेका थिए।

घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

यसअघि पनि बैतडीमा दुई निर्वाचन प्रहरीको मृत्यु भइसकेको छ। यही फागुन ८ गते दशरथचन्द नगरपालिका–४ बबेतका ३८ वर्षीय महादेव ओडको घरमै अचेत अवस्थामा फेला परेपछि मृत्यु भएको थियो।

त्यस्तै, गएको माघ २० गते दशरथचन्द नगरपालिका–४ का ३२ वर्षीय प्रकाश चन्दको निर्वाचन तालिम सकेर फर्किने क्रममा भिरबाट लडेर मृत्यु भएको थियो।

प्रतिक्रिया