
तुलसालाई प्रहरीको आग्रह: भ्रामक सूचना नफैलाउनुस्, अनुसन्धानमा उपस्थित हुनुहोस्
काठमाडौं — ठगी, आपराधिक विश्वासघात र सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तानिएकी टिकटकर तुलसा अधिकारीलाई प्रहरीले भ्रामक सूचना नफैलाउन आग्रह गरेको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले सोमबार एक सूचना जारी गर्दै अनुसन्धान प्रक्रियाबारे गलत प्रचार नगर्न र सम्बन्धित निकायमा उपस्थित भई सहयोग गर्न अनुरोध गरेका हुन्।
प्रहरीका अनुसार अनुसन्धान सुरु भएपछि हाल चीनमा रहेकी अधिकारीले सामाजिक सञ्जाल टिकटकमार्फत् प्रहरीको आलोचना गर्दै विभिन्न अभिव्यक्ति दिएकी छन्। नेपालमा रहँदा प्रहरीले छलफलका लागि समेत नबोलाएको र चीन पुगेपछि मात्रै पक्राउ पुर्जी जारी गरिएको भन्दै उनले प्रहरीको भूमिकामाथि प्रश्न उठाएकी थिइन्।
तर तुलसा अधिकारीले टिकटक भिडियाेमा भनेकी छिन् , “म भदौ १९ गतेसम्म नेपालमै थिएँ, मलाई कुनै खोजखबर गरिएन। चीन आएपछि पक्राउ पुर्जी जारी भएको थाहा पाएँ। मेरा मान्छेहरू प्रहरीमा बुझ्न जाँदा जाहेरीसमेत देखाइएन।”
प्रहरीका अनुसार कुमार चिमोरियाले २२ साउन २०८२ मा प्रहरी वृत्त सातदोबाटोमा तुल्सी अधिकारीविरुद्ध ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जाहेरी दिएका थिए। सो मुद्दाको अनुसन्धान हाल पनि जारी रहेको एसपी मिश्रले जानकारी दिए।
अनुसन्धानकै क्रममा उनको खातामा ठूलो आर्थिक कारोबार देखिएपछि उनी सम्पत्ति शुद्धीकरणको कसुरमा पनि जोडिएकी हुन्। २० कात्तिक २०८२ मा सम्पत्ति शुद्धीकरण विभागको सुझावका आधारमा उनीमाथि उक्त कसुरमा छुट्टै अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीले दुईवटै मुद्दामा अनुसन्धान जारी रहेकाले अनुसन्धानलाई प्रभावित पार्ने फोटो, भिडियो वा भ्रामक सूचना सम्प्रेषण गरेमा त्यसलाई समेत थप अनुसन्धानको विषय बनाइने भन्दै अधिकारीलाई सचेत गराएको छ।



कागजपत्र |
