वीरगञ्जमा कर्फ्यु आदेश जारी


पर्सा- पर्साको वीरगञ्ज महानगरपालिकामा सुरक्षा अवस्था तनावपूर्ण बनेपछि जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार बिहानदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। प्रशासनले बिहान ९:४५ बजेदेखि लागू हुने गरी महानगरका संवेदनशील तथा मुख्य क्षेत्रहरूमा कर्फ्यु लागू गरेको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी सूचनाअनुसार अर्को आदेश जारी नभएसम्म सर्वसाधारणलाई घर बाहिर ननिस्कन र कुनै पनि प्रकारका सार्वजनिक गतिविधि नगर्न निर्देशन दिइएको छ। आवतजावत, समूहमा भेला हुन, जुलुस निकाल्न, सभा–सम्मेलन गर्न तथा बैठक बस्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।

प्रशासनले कर्फ्यु क्षेत्रको सीमाना पनि तोकेको छ। पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा नेपाल–भारत सीमा नजिक रहेको शङ्कराचार्य गेटसम्मको सम्पूर्ण क्षेत्र कर्फ्युको दायरामा परेको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै कडा कदम चालिएको प्रशासनले स्पष्ट पारेको छ।

प्रतिक्रिया