ज्ञानेन्द्र कार्कीको बाटो छेकिएपछि सुनसरीमा झडप, प्रहरीद्वारा लाठीचार्ज


सुनसरी –  चुनाव प्रचारका क्रममा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच झडप भएको छ।

सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ अन्तर्गत पर्ने उक्त स्थानमा कांग्रेस उम्मेदवार ज्ञानेन्द्र कार्की चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा विवाद सुरु भएको प्रहरीले जनाएको छ। रास्वपाका केही कार्यकर्ताले कार्कीको बाटो छेकेपछि भनाभन चर्किँदै हात हालाहालको अवस्था सिर्जना भएको थियो।

स्थिति नियन्त्रणबाहिर जान थालेपछि निर्वाचन सुरक्षामा खटिएको प्रहरीले हस्तक्षेप गर्दै लाठीचार्ज गरी दुवै पक्षका कार्यकर्तालाई तितरवितर पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) केशव थेवेले जानकारी दिए।

उनका अनुसार कांग्रेसको भ्रातृ संगठन तरुण दल र रास्वपाका कार्यकर्ताबीच विवाद बढ्दै गएपछि बल प्रयोग गर्नुपरेको हो। झडपमा संलग्न व्यक्तिहरू एउटै क्षेत्रका बासिन्दा भए पनि फरक–फरक राजनीतिक दलमा आबद्ध रहेका कारण तनाव बढेको बताइएको छ।

प्रतिक्रिया