
दाङमा एमालेको झण्डा जलाइएको घटनाप्रति युवा संघको चेतावनी
काठमाडौं- नेकपा (एमाले) निकट युवा संघ नेपाल लुम्बिनीले आफ्नो पार्टीको नेतृत्वमाथि हुने गालीगलौज र आरोप अस्वीकार्य हुने चेतावनी दिएको छ। यो चेतावनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले दाङमा एमालेको झण्डा जलाएको घटनापछि जारी गरिएको हो।
संघका संयोजक सन्तोष वलीको हस्ताक्षरमा जारी पत्रमा भनिएको छ, “लोकतन्त्रको नाममा अराजकता फैलाउने, अन्य दलको मानमर्दन गर्ने, उच्च नेतृत्वमाथि आधारहीन आरोप लगाउने, गालीगलौज गर्ने र चरित्र हत्या गर्ने कार्य कुनै पनि हालतमा स्वीकार्य छैन।”
संघले रास्वपाका कार्यकर्ताले गरेको उक्त उत्तेजक कार्यलाई ‘अराजक मानसिकताको प्रतीक’ भनेको छ। साथै, संघले घटनाको तत्काल छानबिन गर्न सरकारसँग माग गरेको छ।
बयानमा भनिएको छ, “उक्त घटनाको तत्काल छानबिन गरियोस्। यस्ता गलत गतिविधि दोहोरिन नदिन राज्य संयन्त्र सक्रिय बनोस्, र संलग्न व्यक्तिहरूमाथि कडा कानुनी कारबाही गरियोस्। यदि राज्य संयन्त्र मौन रह्यो भने यसले कानुनप्रति जनविश्वास कमजोर बनाउनेछ।”




कागजपत्र |
