
कञ्चनपुरकी आयशा गुगलमा पूर्णकालीन सफ्टवेयर इन्जिनियर
कञ्चनपुर- सुदूरपश्चिमको सीमावर्ती जिल्ला कञ्चनपुरकी एक युवतीले विश्व प्रविधि क्षेत्रमा नेपाली प्रतिभाको नयाँ पहिचान स्थापित गरेकी छन्। बेलौरी नगरपालिका निवासी कम्प्युटर विज्ञानकी विद्यार्थी आयशा चौधरीले विश्वप्रसिद्ध प्रविधि कम्पनी ‘गुगल’मा पूर्णकालीन सफ्टवेयर इन्जिनियरका रूपमा रोजगारी सुरक्षित गर्न सफल भएकी हुन्।
यसअघि आयशाले गुगलमा सफ्टवेयर इन्जिनियर इन्टर्नका रूपमा काम गर्दै आफ्नो सीप र क्षमता प्रमाणित गरिसकेकी थिइन्। इन्टर्नसिप सफलतापूर्वक सम्पन्न गरे पनि उनले तत्काल प्रि–प्लेसमेन्ट अफर भने प्राप्त गर्न सकिनन्। तर, उक्त असफलताले उनलाई निराश बनाउने साटो अझ दृढ बनायो।
हार नमान्दै आयशाले विभिन्न प्रविधि कम्पनीहरूमा आवेदन दिने क्रम निरन्तर जारी राखिन्। यससँगै उनले नयाँ–नयाँ सीप सिकिन्, आफ्ना प्राविधिक ज्ञानलाई अद्यावधिक गरिरहिन् र आत्मविश्वासका साथ अगाडि बढिरहिन्। उनको यही निरन्तरता, धैर्यता र अथक मेहनतले अन्ततः विश्वस्तरीय कम्पनीमा अवसरको ढोका खोलिदिएको हो।
सानो सहरबाट सुरु भएको उनको यात्रा आज अन्तर्राष्ट्रिय प्रविधि कम्पनीसम्म पुगेको छ। आयशाको सफलताले ठूलो सपना देख्न साहस चाहिने र त्यसलाई साकार पार्न निरन्तर परिश्रम अपरिहार्य हुने सन्देश दिएको छ।
उनको यो उपलब्धि व्यक्तिगत सफलता मात्र नभई सुदूरपश्चिमसहित सम्पूर्ण नेपाली विद्यार्थी समुदायका लागि प्रेरणादायी कथा बनेको छ। सीमित स्रोत–साधनका बाबजुद आत्मविश्वास, लगनशीलता र निरन्तरताले विश्वमञ्चमा नेपाली पहिचान स्थापित गर्न सकिन्छ भन्ने उदाहरणका रूपमा आयशा चौधरी उभिएकी छन्।



कागजपत्र |
