काठमाडौं उपत्यकामा सार्वजनिक बिदाले वायु प्रदूषण घटायो


काठमाडौं- काठमाडौं उपत्यकामा सवारीसाधनको आवागमनमा कमी आउँदा वायु प्रदूषणमा उल्लेख्य कमी आएको छ। आज ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा रहेको छ।

एयर क्वालिटी इन्डेक्स (एक्युआई) अनुसार, मङ्गलबार दिउँसो १३ः०० बजे उपत्यकाको वायु गुणस्तर सूचकाङ्क १९१ पुगेको थियो, जुन आज सोही समयमा घटेर ११४ मा झरेको छ। मङ्गलबार काठमाडौँ विश्वकै तेस्रो प्रदूषित सहरमा रहँदा, आज १४औँ स्थानमा झरेको छ।

हाल, पाकिस्तानको लाहोर १९३ एक्युआईसहित पहिलो र सेनेगलको राजधानी डकार १९२ एक्युआईसहित दोस्रो स्थानमा रहेका छन्।

वातावरणविद् भुषण तुलाधारका अनुसार, सवारीसाधनको धुवाँ प्रत्यक्ष रूपमा प्रदूषण बढाउँछ। गत माघ १ गतेदेखि सञ्चालनमा आएका इँटाभट्टाबाट निस्कने धुवाँ र धुलो पनि प्रदूषणमा योगदान पुर्‍याउँछ।  उनले फोहोर जलाउने र डढेलोको मौसमले पनि वायु प्रदूषण बढाउने खतरा हुने बताए।

प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार, सार्वजनिक बिदाका दिन यातायातको चाप करिब १० प्रतिशतले घट्ने गरेको छ। “सार्वजनिक यातायातले प्रदूषण बढाउने कुरा सत्य हो। तर विद्युतीय बस (ईभी)को सङ्ख्या बढ्दै गएसँगै सकारात्मक प्रभाव पर्ने अपेक्षा छ।”

 

प्रतिक्रिया