विपन्न गरिबले शिक्षा पाउनु र उपचार पाउनु हाम्रो एजेन्डा हो : बालेन शाह


धनगढी-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले धनगढीमा आयोजित परिवर्तन उद्घोष सभामा सम्बोधन गर्दै आफूले देश र सुदूरपश्चिम बनाउने सपना देखेको र त्यो सपना आफ्नो पार्टीले पूरा गर्ने बताएका छन्।

सभामा उनले देशलाई स्वीजरल्याण्ड जस्तो बनाउनु आवश्यक नभएको तर बडीमालिका, रामारोशन र खप्तडजस्ता क्षेत्रको विकास अनिवार्य रहेको उल्लेख गरे। “बेली छकालै एउटा सुइना देख्या थे, सुदूरपश्चिम र देश बनेको। त्यो सपना पूरा गर्ने पार्टी रास्वपा हो,” उनले डोटेली भाषामा भने।

बालेनले आफ्नो एजेन्डा स्पष्ट पार्दै भने, “खल्तीमा पैसा नभएको विपन्न गरिबले शिक्षा पाउनुपर्छ, उपचार पाउनुपर्छ। दुई वर्षमा बन्ने बाटो डेढ वर्षमा बन्नुपर्‍यो। रुखमा बाँधेर हुन्छ कि, खोरमा सुताएर हुन्छ कि, बाटो बन्नुपर्‍यो। यही हाम्रो एजेन्डा हो।”

उनले सुदूरपश्चिमका स्थानीयहरूको आवाज सुनिनु आवश्यक भएको बताए। “यो भेगमा मेरो भोट छैन भन्ने कारणले बाटो नबन्ने प्रवृत्ति गलत हो। रास्वपा सरकारमा गए कांग्रेस, एमाले र माओवादीका बाटोहरू पनि बनाइन्छ, तर हामी सबै नेपालीका लागि बाटो बनाउनेछौं,” उनले भने।

सभामा सम्बोधन गर्दै बालेनले मत माग्न नभई काम माग्न आएका बताएका छन्। “म यहाँ बोल्न आएको होइन, काम माग्न आएको हो। भोट नदिए पनि हुन्छ, कामको लिष्ट दिनुहोस्। रास्वपाले काम गरेर देखाउँछ,” उनले कार्यकर्ता र समर्थकहरूलाई सम्बोधन गर्दै भने।

साथै, उनले सुदूरपश्चिमका कलाकारहरूका स्वर काठमाडौंका चोकमा घन्किनुपर्ने र क्षेत्रको सांस्कृतिक पहिचानलाई पनि प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया