
सेवा–सुविधामा असन्तुष्टि जनाउँदै हुम्लामा निर्वाचन प्रहरीको नाराबाजी
हुम्ला- सेवा–सुविधामा असन्तुष्टि जनाउँदै हुम्लामा खटिएका निर्वाचन प्रहरीहरूले आज नाराबाजीसहित प्रदर्शन गरेका छन्। उनीहरू जिल्ला प्रशासन कार्यालय हुम्लाअगाडि भेला भएर विरोध जनाइरहेका छन्।
प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले निर्वाचन प्रहरीहरूले सेवा–सुविधाको विषय उठाउँदै नाराबाजी गरेको जानकारी दिँदै त्यसबारे बुझ्ने काम भइरहेको बताए।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि हुम्लामा ५९५ जना निर्वाचन प्रहरी भर्ना गरिएको छ। नियमअनुसार निर्वाचन प्रहरीहरूले प्रहरी जवानको प्रारम्भिक तलबमान बराबर प्रतिदिन ८६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनका लागि ३४ हजार ७७६ रुपैयाँ पाउने व्यवस्था छ। साथै मतदानको दिनको अघिपछि गरी चार दिनका लागि प्रतिव्यक्ति प्रतिदिन ३०० रुपैयाँका दरले १ हजार २०० रुपैयाँ खाजा खर्च पनि उपलब्ध गराइन्छ।
हिमाली क्षेत्रका म्यादी तथा निर्वाचन प्रहरीहरूले पहाडी र तराई क्षेत्रको तुलनामा केही बढी सुविधा पाउने व्यवस्था रहेको छ। सोहीअनुसार हिमाली क्षेत्रमा प्रतिनिर्वाचन प्रहरी खर्च ११ हजार ५७० रुपैयाँ, पहाडी क्षेत्रमा ७ हजार ९४५ रुपैयाँ र तराई क्षेत्रमा ६ हजार १७० रुपैयाँ तोकिएको छ।
तर, पहिले भनिएकोभन्दा कम तलब दिन लागिएको भन्ने सूचना फैलिएपछि हुम्लाका निर्वाचन प्रहरीहरू आन्दोलनमा उत्रिएको बताइएको छ। प्रमुख जिल्ला अधिकारी रेग्मीले भने, “केही गलत बुझाइका कारण उनीहरू आन्दोलित भएका हुन सक्छन्।”



कागजपत्र |
