
दार्चुलाको नागुमा निर्वाचन बहिष्कार
दार्चुला – दार्चुलाको नौगाड गाउँपालिका–१, नागुका स्थानीयले सडक निर्माणको माग पूरा नभएसम्म मतदानमा सहभागी नहुने अडान दोहोर्याएका छन्। विकासमा पछाडि परेको गुनासो गर्दै उनीहरूले फागुन २१ गते हुने निर्वाचन बहिष्कार गर्ने घोषणा गरिसकेका छन्।
स्थानीय संघर्ष समितिका संयोजक करनसिंह डडालका अनुसार राजनीतिक दल तथा उम्मेदवारहरूले सडकसहित आधारभूत पूर्वाधार निर्माणका विषयमा लिखित प्रतिबद्धता नजनाएसम्म चुनावी प्रक्रियामा भाग नलिने निर्णय यथावत् छ।
स्थानीयलाई मनाउन माघ २४ गते नागु पुगेको सरकारी टोली पनि निष्कर्षविहीन रूपमा फर्किएको छ। टोलीले गाउँमै दुई दिन बसेर छलफल तथा सेवा प्रवाह गरे पनि स्थानीयवासी आश्वस्त हुन सकेनन्। यसअघि पनि माघ १ र १७ गते आयोजित आमसभामार्फत नागुवासीले चुनाव बहिष्कारको घोषणा गरेका थिए।
अनिल पौडेलको नेतृत्वमा पुगेको सरकारी टोलीले स्थानीयसँग छलफल गर्नुका साथै नागरिकता वितरण, राष्ट्रिय परिचयपत्र वितरण, स्वास्थ्य सेवा, पशु उपचार सेवा तथा औषधि वितरण लगायतका शिविर सञ्चालन गरेको थियो।
तर, स्थानीयले सडक निर्माणबारे ठोस आश्वासन नआएसम्म आफ्नो अडान नबदल्ने बताएका छन्।



कागजपत्र |
