
मध्यरातमा फेलातालमा कार खस्दा चालकको मृत्यु
कास्की – पोखरा महानगरपालिका–६ पामेस्थित गैह्राको चौतारा नजिक गएराति कार फेवातालमा खस्दा चालकको मृत्यु भएको छ।
गएराति करिब २ः१० बजे बीएए १५८२ नम्बरको कार चालकले नियन्त्रण गुमाउँदा सवारी साधन अचानक फेवातालमा खसेको सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हे.क्वा. कालिका कास्कीले जनाएको छ।
सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी उपरीक्षक बसन्तबहादुर सिंहको कमाण्डमा २१ जनाको गोताखोर टोली घटनास्थलमा खटिएको थियो। गोताखोर टोलीले अन्दाजी २५–३० वर्षीय पुरुषलाई अचेत अवस्थामा तालबाट बाहिर निकाली उपचारका लागि गण्डकी मेडिकल कलेज पठाएको थियो।
दुर्घटनामा स्याङ्जाको फेदीखोला गाउँपालिका–५ घर भई हाल पोखरा महानगरपालिका–७ मासबार बस्दै आएका २४ वर्षीय अदित गुरुङ परेको खुलेको छ। उनलाई बिहान ४ः३४ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
यसैबीच क्रेनको सहायताले कार तालबाट बाहिर निकालेर थप अनुसन्धानका लागि वडा प्रहरी कार्यालय बैदाममा लगिएको छ।



कागजपत्र |
