टर्की संसद्‌मा सत्तारूढ र विपक्षी सांसदबीच कुटाकुट


काठमाडौं – टर्कीको संसद्‌मा बुधबार सत्तारूढ र विपक्षी दलका सांसदहरूबीच कुटाकुट भएको छ। विवादास्पद व्यक्तिलाई न्याय मन्त्रालयको जिम्मेवारी दिइएको भन्दै संसद्‌भित्र झगडा र हातापात भएको हो।

विपक्षी सांसदहरूले राष्ट्रपति रेसेप तैयप एर्दोगानले न्याय मन्त्रालयको जिम्मेवारी दिएका इस्तानबुलका मुख्य अभियोजक अकिन गुरलेकलाई शपथग्रहण गर्नबाट रोक्ने प्रयास गरेका थिए।

तनाव बढ्दै जाँदा सांसदहरूले एकअर्कालाई धकेलिरहेको देखिएको थियो भने केहीले मुक्का प्रहार गरेका थिए।

गुरलेक, जो मुख्य विपक्षी दल रिपब्लिकन पिपल्स पार्टी (सीएचपी)का धेरै सदस्यमाथि मुद्दा चलाइरहेका थिए, विपक्षीले ती मुद्दालाई राजनीतिक प्रेरित भन्दै लामो समयदेखि आलोचना गर्दै आएका छन्। अन्ततः सत्तारूढ दलका सांसदहरूले गुरलेकलाई घेरेर शपथ ग्रहण गराएका थिए।

त्यसैगरी, एर्दोगानले पूर्वी प्रान्त एर्जुरुमका गभर्नर मुस्तफा चिफ्त्चीलाई गृहमन्त्री नियुक्त गरेका छन्। सीएचपी नेतृत्वको नगरपालिकाका सयौँ अधिकारीहरू भ्रष्टाचार अनुसन्धानमा पक्राउ परेका छन्, जसमा इस्तानबुलका मेयर एकरेम इमामोग्लु पनि छन्, जो एर्दोगानका मुख्य प्रतिद्वन्द्वी मानिन्छन्। इमामोग्लुलाई गत वर्ष पक्राउ गरिएको थियो।

सरकारले न्यायपालिकाले स्वतन्त्र रूपमा काम गर्ने बताउँदै आएको छ। हालको मन्त्रिपरिषद् फेरबदलको कुनै आधिकारिक कारण सार्वजनिक गरिएको छैन। सरकारी राजपत्र अनुसार, बाहिरिएका मन्त्रीहरूले जिम्मेवारीबाट मुक्त हुन अनुरोध गरेका थिए।

टर्कीमा सम्भावित संवैधानिक सुधारको बहस चलिरहेका बेला यी नियुक्तिहरू भएको हुन्। साथै, दशकौँदेखिको द्वन्द्व अन्त्य गर्न मिलिटेन्ट कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके)सँग शान्ति पहल अघि बढाइएको छ।

प्रतिक्रिया