कपिलवस्तुमा गुडिरहेको बसमा आगलागी, यात्रु सकुशल


कपिलवस्तु- कपिलवस्तुमा चलिरहेको यात्रुबाहक बसमा आगलागी हुँदा बस पूर्ण रूपमा जलेर नष्ट भएको छ । जिल्लाको हुलाकी सडक खण्डअन्तर्गत तौलिहवा–भैरहवा सडकमा पर्ने शुद्धोदन गाउँपालिका–६ टिटिहिरियामा आज बिहान उक्त घटना भएको हो ।

काठमाडौँबाट सुर्खेततर्फ गइरहेको ना ७ ख ६०४८ नम्बरको बस गुडिरहेको अवस्थामा अचानक बायाँ चक्काबाट आगो लागेको प्रहरीले जनाएको छ । आगलागी सुरु हुनासाथ चालकले बस सडक छेउमा रोकेका थिए भने त्यसपछि बसमा सवार यात्रुहरू सुरक्षित रूपमा बाहिर निस्किएका थिए ।

बसमा सवार ४४ जना यात्रु सबै सकुशल रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । आगलागीको सूचना पाएपछि स्थानीयवासी, प्रहरी तथा कपिलवस्तु नगरपालिकाबाट खटिएको दमकल टोलीले आगो नियन्त्रणमा लिन प्रयास गरे पनि बस करिब आधा घण्टामै पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहका अनुसार घटनामा कुनै पनि मानवीय क्षति भएको छैन । आगलागीको कारण भने हालसम्म खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया