काठमाडौंमा अपराधविरुद्ध प्रहरीको कडा कारबाही

एसएसपी रमेश थापाको कमाण्डपछि संगठित अपराधीमाथि दबाब


काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो समय अपराध नियन्त्रणका लागि प्रहरीले कडा र प्रभावकारी कारबाही थालेको छ। बौद्ध क्षेत्रमा एक करोड रुपैयाँ बराबरको सुनचाँदी लुटपाट गरी फरार भएका अभियुक्तलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको ताजा घटनाले प्रहरीको बद्लिएको रणनीति देखाएको छ। यसअघि मूलपानी यारियामा लूटपाटमा संलग्न समूहलाई पानीको गोली प्रहार गर्दै नियन्त्रणमा लिइएको थियो।

प्रहरीका अनुसार बौद्ध घटनामा संगठित रूपमा लूटपाटमा संलग्न अभियुक्तले प्रहरीलाई छल्दै भाग्न खोजेपछि आत्मरक्षाका लागि गोली प्रहार गर्नुपरेको हो। गोली लागेका अभियुक्त हाल ट्रमा सेन्टरमा उपचाररत छन्। प्रहरी स्रोतले उक्त कारबाही कानुनअनुसार र नियन्त्रणका क्रममा गरिएको जनाएको छ।

यसअघि मूलपानी यारियामा भएको लूटपाट प्रयासमा प्रहरीमाथि आक्रमणको प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन पानीको गोली प्रयोग गरिएको थियो। दुवै घटनाले काठमाडौं प्रहरी परिसरको नेतृत्व सम्हालेपछि अपनाइएको कडा अपराध नियन्त्रण रणनीतिलाई उजागर गर्छ।

जेञ्जी आन्दोलनपछिको संवेदनशील अवस्थामा काठमाडौं प्रहरी परिसरको कमाण्ड सम्हालेका एसएसपी रमेश थापाले प्रहरी संगठनको कार्यशैलीमा स्पष्ट परिवर्तन ल्याएको प्रहरी स्रोत बताउँछ। अपराध नियन्त्रणलाई पहिलो प्राथमिकतामा राख्दै हुन्डी, संगठित लूटपाट, सुन तस्करी, लागूऔषध कारोबार र गिरोह-आधारित अपराधविरुद्ध विशेष निगरानी र अपरेसन तीव्र पारिएको छ।

एसएसपी थापाले भने, “काठमाडौंवासीको शान्ति सुरक्षाका लागि प्रहरी पूर्ण रूपमा प्रतिबद्ध छ। संगठित रूपमा अपराध गर्ने, लूटपाट गर्ने वा प्रहरीलाई चुनौती दिने जो–कोहीलाई कानुनको दायरामा ल्याइन्छ। नागरिकको सुरक्षाका लागि आवश्यक सबै कदम चाल्न हामी तयार छौँ।”

प्रहरी स्रोतका अनुसार हाल उपत्यकाभर अपराधसम्बन्धी सूचनामा आधारित अपरेसनहरू बढाइएका छन्। यसले प्रहरीको मोराल बढाएको छ भने अपराधी समूहहरू दबाबमा परेको देखिएको छ। पछिल्लो समय संगठित अपराधमा संलग्न केही गिरोहहरू उपत्यकाबाट बाहिर सर्न थालेको प्रहरीको आन्तरिक मूल्याङ्कन छ।

निरन्तरको निगरानी, तदारुकता र कडा कारबाहीले काठमाडौंवासीमा सुरक्षाप्रति विश्वास बढ्दै गएको छ। काठमाडौं प्रहरी परिसरको नयाँ रणनीतिले उपत्यकामा अपराध नियन्त्रणतर्फ सकारात्मक सन्देश दिएको सरोकारवालाहरू बताउँछन्।

प्रतिक्रिया