
बालेन चढ्ने गाडी कमल मालपानीको
काठमाडौं- झापा–५ बाट उम्मेदवार बनेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ चढेको चार करोड रुपैयाँभन्दा बढी मूल्यको कालो रंगको ल्यान्ड रोभर डिफेन्डर गाडी सामाजिक सञ्जालमा बिहीबार बेलुकादेखि भाइरल बनेको छ।
सोही गाडी कसको हो भन्ने विषयमा मतान्तर भए पनि बालेन्द्र शाह केही दिनदेखि नै उक्त गाडीमा हिँडिरहेका थिए। गत आइतबार उनले चुनावी सभाका लागि जनकपुर पुगेको बेला पनि यही गाडीमा देखिएका थिए।
यातायात व्यवस्था कार्यालयका स्रोतका अनुसार उक्त गाडी रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवा स्थित करेन्ट मसला उत्पादन गर्ने कम्पनी त्रिमूर्ति इन्डस्ट्रिज प्रालिको नाममा दर्ता छ। कम्पनीका एक लगानीकर्ता कमल मालपानी हुन्। कमल मालपानीको तिलोत्तमामै अर्को उद्योग यसोदा फुड्स प्रालि पनि रहेको छ, जसले करेन्ट चाउचाउ, लाली चाउचाउ र करेन्ट चिजबल उत्पादन गर्छ। उनको अर्को उद्योग श्रीराम टोबाको प्रालि बुटवल उपमहानगरपालिकामा रहेको छ, जसले भोला गुट्खा र जित सुर्ती उत्पादन गर्छ।
कमल मालपानीले भने, “हो, हामीले नै बालेन्द्रलाई गाडी दिएका हौं।” तर कति समयका लागि गाडी दिइएको हो भन्ने प्रश्नमा उनले थप जानकारी भने दिएनन्।



कागजपत्र |
