त्रिशूली किनारमा बालुवाले पुरिएको अवस्थामा भेटियाे गणपति डिलक्स बस


काठमाडौं-  त्रिशूली नदी किनारमा बालुवाले पुरिएको अवस्थामा ‘गणपति डिलक्स’ लेखिएको बस फेला परेको छ। तनहुँको आँबुखैरेनी गाउँपालिका–५ दोन्द्राङबेसी नजिकै नदी किनारमा गाडीका पाटपुर्जा देखिएपछि खोजी कार्य थालिएको थियो।

पाटपुर्जा भेटिएको सूचनापछि सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवन र नं. २३ मनकामना गण भानु, तनहुँबाट खटिएको संयुक्त टोलीले खोजी गर्दै जाँदा बालुवामा पुरिएको अवस्थामा बस फेला पारेको हो।

गत २८ असार २०८१ बिहान वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस सडकमाथिबाट आएको लेदोसहितको पहिरोले बगाउँदा त्रिशूली नदीमा खसेका थिए।

दुर्घटनाका बेला एञ्जल डिलक्समा ३८ जना र गणपति डिलक्समा २७ जना यात्रु सवार थिए। तीमध्ये तीन जना यात्रु हाम फालेर ज्यान जोगाउन सफल भएका थिए भने ६२ जना यात्रु बेपत्ता भएका थिए।

दुर्घटनापछि हालसम्म १४ जनाको शव फेला परेको भए पनि बाँकी यात्रुहरूको अवस्था अझै अज्ञात रहेको छ।

प्रतिक्रिया