
सिमलतालमा बेपत्ता बस भेटियो
काठमाडौं — चितवनको सिमलतालमा डेढ वर्ष अघि खसेको भेटिएको छ ।
२०८१ साल असार २८ गते मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा खसेको दुई बसमध्ये एउटा भेटिएको जनाइएको हो ।
त्यतिबेला अथक प्रयासका बाबजुद नभेटिएको उक्त बस झण्डै डेढवर्षपछि अहिले बालुवामा पुरिएको अवस्थामा भेटिएको जनाइएको छ ।
त्यस स्थानमा दुईवटा यात्रुबहाक बस खस्दा कैयौं यात्रुहरुले ज्यान गुमाएका थिए । सो यात्रुबहाक खोजीका लागि बंगलादेश र भारतबाट समेत गोताखोर परिचालन गरिएको थियो । असार २८ गते वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस असार २८ गते बिहान त्रिशूली नदीमा पहिरोसँगै खसेका थिए। सो बस भेटिएको भन्दै सामाजिक सञ्जाल मुग्लिन बजार पेजले तस्बिर समेत सार्वजनिक गरेको छ ।
बस तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नं. ५ स्थित दोन्द्राङबेसी भन्ने स्थानमा भेटिएको हो ।
अहिले यतिबेला नेपाल प्रहरीको टोली बस भेटिएको स्थानमा पुगिसकेको छ ।



कागजपत्र |
