कांग्रेसका कार्यबाहक सभापति खड्काले बोलाएको पत्रकार सम्मेलन स्थगित


काठमाडौं-  नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको पत्रकार सम्मेलन अन्तिम समयमा आएर अचानक स्थगित गरिएको छ।

दुई महामन्त्रीले विशेष महाधिवेशन बोलाउने घोषणा गरेपछि त्यस विषयमा पार्टीको संस्थागत धारणा सार्वजनिक गर्न खड्काले पत्रकार सम्मेलन आयोजना गरेका थिए। पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, सानेपामा दिउँसो १ बजे पत्रकार सम्मेलन तय गरिएको भए पनि कुनै औपचारिक कार्यक्रम नगरी स्थगित गरिएको हो।

पत्रकार सम्मेलन स्थगित भएको जानकारी पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएका छन्। उनका अनुसार तय भएको समयभन्दा केही बेर अघि नै पत्रकार सम्मेलन रोकिएको हो।

यसअघि हिजो मात्रै बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशन पार्टी केन्द्रीय कार्यसमितिको निर्णयबाट मात्र बोलाउन सकिने भन्दै महामन्त्रीहरूको पहल फिर्ता लिन आग्रह गरेको थियो।

त्यस बैठकले नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य नरहेको निष्कर्ष पनि निकालेको थियो।

 

प्रतिक्रिया