‘एसएमसी’ एपमार्फत १२ करोडभन्दा बढी ठगी, ११ जना पक्राउ


काठमाडौं-  साइबर ब्युरोले ‘एसएमसी’ एपको नाममा अनलाइन ठगी गर्ने एक संगठित गिरोहको पर्दाफास गरेको छ। ‘एसएमसीएन एड्भर्टाइजिङ सर्भिस सेन्टर प्रालि’ नामक कम्पनीको आवरणमा करिब ७० हजारभन्दा बढी सर्वसाधारणलाई नेटवर्क मार्केटिङमा आबद्ध गराई ठगी गरेको आरोपमा एक चिनियाँ नागरिकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेकाहरूले कुल १२ करोड ८ लाख १६ हजार ३७२ रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको साइबर ब्युरोले जनाएको छ।

पक्राउ पर्नेमा ३७ वर्षीय चिनियाँ नागरिक ही जियाङजियाङ, २१ वर्षीय मिलन श्रेष्ठ, १९ वर्षीय सौगात थापा, ३३ वर्षीय वीर बहादुर तामाङ, २३ वर्षीया सोनम खातुन, २३ वर्षीया प्रिया केसी, २२ वर्षीया मोनिका गुरुङ, २१ वर्षीया गीता गुरुङ, ३७ वर्षीय नासिर मिया अन्सारी, ६६ वर्षीया सायरा खातुन र ६७ वर्षीय राम निवास प्रसाद कलवार रहेका छन्।

उनीहरूलाई काठमाडौँका ठमेल, लोलाङ, टोखा, तारकेश्वर क्षेत्रका साथै बुटवल र वीरगञ्जबाट विभिन्न मितिमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि सङ्गठित अपराध तथा विद्युतीय माध्यमसम्बन्धी ठगीको कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार गिरोहले चितवनको खैरहनी नगरपालिका–६ मा कार्यालय नै स्थापना गरेको थियो। सर्वसाधारणको विश्वास जित्न उनीहरूले कम्पनी रजिस्ट्रारको कार्यालयको नक्कली दर्ता प्रमाणपत्र देखाउने गरेका थिए।

गिरोहले युनिभर्सल, वार्नर ब्रदर्स र डिज्नी जस्ता विश्वप्रसिद्ध फिल्म कम्पनीसँग सहकार्य रहेको झुटो दाबी गर्दै फिल्मको विज्ञापन हेरेबापत पैसा पाइने प्रलोभन देखाएर सर्वसाधारणलाई ‘एसएमसी’ एपमार्फत लगानी गर्न उक्साउने गरेको पाइएको छ।

नयाँ सदस्य थपे वापत आकर्षक कमिसन र दैनिक आम्दानीको लोभ देखाइन्थ्यो। अनुसन्धानमा नयाँ सदस्यबाट संकलित रकम नै पुराना सदस्यलाई प्रतिफलका रूपमा बाँडिने गरिएको र ‘ब्ल्याकरक’ जस्ता काल्पनिक कोषमा लगानी गर्दा दैनिक १.२ प्रतिशतसम्म प्रतिफल पाइने भन्दै भ्रम फैलाइएको देखिएको छ।

हालसम्म यस प्रकरणमा २५५ वटा उजुरी प्राप्त भइसकेका छन् भने ठगीको रकम अझै बढ्न सक्ने प्रहरीको अनुमान छ।

 

 

प्रतिक्रिया