
कांग्रेसका ५ प्रदेश सभापतिद्वारा नियमित महाधिवेशन र निर्वाचनकाे तयारीमा जुट्न आह्वान
काठमाडौं- नेपाली कांग्रेसका पाँच प्रदेश सभापतिले संयुक्त वक्तव्य जारी गर्दै नियमित महाधिवेशन र फागुन २१ को निर्वाचन तयारीमा लाग्न पार्टीका सबै कार्यकर्तालाई आह्वान गरेका छन्।
मंसिर १५ मा नियमित महाधिवेशनको मिति आउँदा विशेष महाधिवेशनको प्रस्ताव निष्क्रिय भएको र अब वैशाखमा नियमित महाधिवेशन आयोजना हुने भएपछि प्रदेश सभापतिहरूले महाधिवेशन र निर्वाचन तयारीमा जोड दिन आग्रह गरेका हुन्।
“महाधिवेशनपूर्व अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने क्रियाशील सदस्यता नवीकरण र वितरणको कार्य सम्पन्न नभएपछि २०८२ पुस २६–२८ मा महाधिवेशन हुन नसकेको छ। यसअनुसार केन्द्रीय कार्यसम्पादन समितिको २०८२ पुस १८ को निर्णयअनुसार २०८३ वैशाख २८–३१ मा नियमित महाधिवेशन सम्पन्न हुनेछ। त्यसअघि विशेष महाधिवेशनको औचित्य समाप्त भएकोले सम्पूर्ण कांग्रेसजनहरूलाई एकताबद्ध भई नियमित महाधिवेशनको तयारी र २०८२ फाल्गुण २१ मा हुने आम निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्दछौँ,” पाँच प्रदेश सभापतिले संयुक्त वक्तव्यमा उल्लेख गरेका छन्।
यस वक्तव्यमा गण्डकी र लुम्बिनी प्रदेशका सभापति भने संलग्न छैनन्।




कागजपत्र |
