यूके पठाइदिन्छु भन्दै ठगी, ३ जना पक्राउ


काठमाडाैं-  वैदेशिक रोजगारीको आकर्षक तलबको प्रलोभन देखाएर यूके पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका–१ बस्ने ३९ वर्षीय इन्द्र बहादुर केसी, काठमाडौं स्वयम्भू बस्ने ४० वर्षीय आइते तामाङ (धादिङ थाक्रे गाउँपालिका–५) र काठमाडौं महानगरपालिका–१५ बस्ने ३४ वर्षीय विजय गुरूङ रहेका छन्।

प्रहरीका अनुसार, इन्द्र र आइतेले सात जना पीडितबाट १३ लाख रुपैयाँ ठगी गरेका थिए भने विजयले एउटै पीडितबाट ५ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए। पीडितहरूले उजुरी दिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले इन्द्र र आइतेलाई बिहीबार काठमाडौं–२६ गोंगबुबाट र विजयलाई आइतबार काठमाडौं–१४ बाट पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये इन्द्र र आइतेलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने विजयलाई वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको छ।

प्रतिक्रिया