सर्लाही हत्या प्रकरण: वन हेरालुको टाउको भेटियो


जनकपुरधाम-  सर्लाहीमा घाँटी छिनाएर हत्या गरिएका वन हेरालु रामईश्वर महतोको टाउको फेला परेको छ। यसअघि टाउकोविनाको शव फेला परेको घटनाले सनसनी फैलाएको थियो।

सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईका अनुसार घटनास्थल नजिकैको झाडीमा केही समयअघि महतोको टाउको फेला परेको हो। टाउको भेटिएपछि घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

डीएसपी राईले बताएअनुसार टाउकोविनाको शव शनिबार नै फेला परेको थियो। आवश्यक मुचुल्का र अनुसन्धान प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ।

शनिबार सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राईटरखोरस्थित सागरनाथ वन विकास परियोजनाको जंगलभित्र ज्यालादारीमा कार्यरत स्थानीय ४७ वर्षीय रामईश्वर महतोको शव टाउकोविनाको अवस्थामा फेला परेको थियो। शव घरदेखि करिब ५०० मिटर टाढा जंगलभित्र भेटिएको थियो।

स्थानीयका अनुसार शनिबार बिहान करिब ५ बजेतिर जंगलभित्र रुख काटिएको आवाज सुनेपछि सो स्थानतर्फ पुगेका थिए। त्यसक्रममा टाउकोविनाको शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो।

सो घटनामा संलग्न हुनसक्ने आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

प्रतिक्रिया