
आफैँले बोकेको बन्दुक पड्किँदा घाइते
गोरखा- धार्चे गाउँपालिका–४ लाप्राकका टेकबहादुर गुरुङ आफैँले बोकेको भरुवा बन्दुक पड्किँदा घाइते भएका छन्। बारीतर्फ जाँदै गर्दा असावधानीवश ट्रिगर दबिँदा गोली लागेकाे हाे।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार गुरुङ अवैध रुपमा बन्दुक बोकी हिँडिरहेका थिए। घाइते गुरुङलाई उपचारका लागि काठमाडौंको अल नेपाल अस्पताल सामाखुशी लगिएको छ।
प्रहरी टोली घटनास्थल पुगेको र बारीमा बन्दुक फेला परेको बताइएको छ। प्रारम्भिक अनुसन्धान अनुसार उक्त बन्दुक अवैध रुपमा राखिएको हुन सक्ने आशंका गरिएको छ।
प्रहरीले बन्दुक नियन्त्रणमा लिएर यस घटनाको वास्तविक कारण, बन्दुकको प्रयोग र समयबारे थप अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय गोरखाले अवैध हातहतियार प्रयोग तथा राख्ने कार्य कानुनविपरीत भएकाले सम्बन्धित सबै पक्षविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।



कागजपत्र |
