जेनजी आन्दोलनले मुलुकलाई नयाँ दिशा दियाे : उपराष्ट्रपति यादव


काठमाडौं-  उपराष्ट्रपति रामसहायप्रसाद यादवले जेन–जी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ मार्ग र दिशा दिएको बताएका छन्। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले यो कुरा बताए।

उपराष्ट्रपति यादवका अनुसार सो आन्दोलनले शिक्षण–सिकाईलाई विवेकशील, सचेत, राष्ट्रभक्त र जिम्मेवार नागरिक उत्पादन गर्ने दिशामा रुपान्तरण गर्न प्रेरित गरेको छ। उनले लोकतान्त्रिक मूल्य र संविधानको मर्मलाई सुदृढ बनाउने अवसर पनि उक्त आन्दोलनले प्रदान गरेको बताए।

उपराष्ट्रपति यादवले परिमार्जित, रुपान्तरित र सीपयुक्त शिक्षामा जोड दिन आवश्यक रहेको उल्लेख गर्दै, निजी शिक्षालयले शैक्षिक गुणस्तरमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने स्पष्ट पारे। उनले सरकार नीतिसँग मेल खाने गरी शैक्षिक गतिविधि अगाडि बढाउन निजी शिक्षालयहरुको ध्यानाकर्षण गराए।

उनले थपे, “शिक्षकलाई निरन्तर तालिम, अनुसन्धान र नवप्रवद्र्धनमा प्रोत्साहित गर्नुपर्छ, समावेशी शिक्षा र समुदायसँग सहकार्य गर्दै राष्ट्र निर्माणमा सक्रिय सहभागिता दिनुपर्छ। निजी शिक्षालयहरुले राष्ट्रअनुकूल ज्ञान उत्पादनमा योगदान गर्नुपर्दछ।”

उपराष्ट्रपति यादवले अनुसन्धान र नवप्रवद्र्धनलाई प्रोत्साहन गर्दै मुलुकको शिक्षा प्रणालीमा निजी क्षेत्रको योगदान आवश्यक रहेको पनि बताए।

प्रतिक्रिया