रवि-बालेन वार्ता चलिरहँदा गेटमा गुरुङ, भन्छन्–सम्झौता नहुँदासम्म बाहिर जान दिनेछैनौं


काठमाडौं-  वैकल्पिक राजनीतिको भविष्यको चर्चा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँका मेयर बालेन शाहबीच ‘वान टु वान’ वार्ता चलिरहेका बेला घरबाहिर रोचक दृश्य देखिएको छ।

ललितपुरको कुपण्डोलस्थित वार्तास्थलको गेट बाहिर उभिएका जेन-जी आन्दोलनका अगुवा भनिएका सुधन गुरुङसहितको टोलीले दुई नेताबीच सहमति नभएसम्म उनीहरूलाई बाहिर निस्किन नदिने बताएका छन्।

गुरुङले फेसबुकमा पोस्ट गरेको भिडियोमा भनेका छन्, “हाम्रो दुईजना नेताहरू भित्र हुनुहुन्छ। जबसम्म दुईजना मिल्नुहुन्न, तबसम्म यो गेट खोलिँदैन। हामीले यहाँ ताला लगाएर राखिदिएका छौं।”

भिडियोमा गुरुङले थप भने, “हामी यहाँ अब गार्ड! कोही पनि भित्र छिर्दैन, कोही पनि बाहिर जाँदैन। दुवैजना थुनिनुभयो। कुरा नमिलेसम्म यत्तिकै हो।” भिडियोमा सँगै रहेका अर्का व्यक्तिले ‘दाइले साँचो लगाउनुभयो भनेर खबर आइरहेको छ त ?’ सोध्दा साजनले जवाफ फर्काए, “साँचो त हामीले बोकिसक्यौं।”

उनले भिडियोको क्याप्सनमा पनि लेखेका छन् – “सम्झौता नहुँदासम्म हामी रवि लामिछाने र बालेन शाहलाई बाहिर जान दिने छैनौं। We have locked the doors.”

प्रतिक्रिया