
काठमाडौंमा ‘क्यासिनो इभेन्ट’को नाममा अवैध ग्याम्बलिङ, गिरोहका सदस्य पक्राउ
काठमाडौं- भारतीय नागरिकलाई काठमाडौंका विभिन्न पाँचतारे होटलमा राखेर अवैध रूपमा ‘ग्याम्बलिङ’ गराउँदै आएको गिरोहका सदस्यहरूलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले ठमेलस्थित छायाँ सेन्टरमा रहेको होटल अलफ्टबाट गिरोहका सदस्यहरूलाई नियन्त्रणमा लिएको हो। अनुसन्धानका क्रममा उक्त गिरोहले काठमाडौंका विभिन्न पाँचतारे होटलमा करिब २३० वटा कोठा बुक गरी सोही संख्यामा भारतीय क्यासिनो खेलाडीलाई नेपाल ल्याउने गरेको खुलेको छ। उनीहरूले क्यासिनोभित्र सूचना प्रविधिको दुरुपयोग गर्दै प्रतिबन्धित आर्थिक कारोबार सञ्चालन गरिरहेका थिए।
प्रहरीका अनुसार गिरोहले ‘क्यासिनो इभेन्ट’ को नाममा भारतीय नागरिकलाई नेपाल ल्याउने र उनीहरूको जहाज टिकट, होटल बसाइ तथा खानपान निःशुल्क व्यवस्थापन गर्ने गरेको थियो। साथै, खेलाडीहरूको मनोरञ्जन र शारीरिक सन्तुष्टिको व्यवस्थासमेत मिलाइने गरेको अनुसन्धानमा संलग्न प्रहरीले जनाएको छ।
क्यासिनो खेल्न ल्याइएका भारतीय नागरिकहरूलाई अलफ्टसहित र्याडिसन, मेरियटलगायतका पाँचतारे होटलमा राखिएको थियो। यस प्रकरणमा भारतीय नागरिक सुरेश महाजन, प्रमोद मोरिया, दिनेश बर्मा र विक्रम सिंह पक्राउ परेका छन्।
त्यसैगरी, क्यासिनो वाल्डोमा खेल सहजकर्ताको रूपमा कार्यरत रही अन्य ‘डिलिङ’ कार्यमा संलग्न नेपाली नागरिक चिजा खड्का र भवानी पाण्डेलाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामध्ये चार जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता गरिएको छ।
प्रहरीका अनुसार सेन्सरयुक्त उपकरण प्रयोग गरी नेपालमा प्रतिबन्धित विभिन्न प्रकारका जुवा खेलाउने गरिएको थियो। नेपालको फितलो जुवा ऐनको फाइदा उठाउँदै भारतीय गिरोहले यस्तो अवैध कारोबार सञ्चालन गरेको अनुसन्धानरत अधिकारीहरूको भनाइ छ।
घटनासम्बन्धी विस्तृत विवरण बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ। क्यासिनो खेल्न आएका केही भारतीय नागरिकलाई भने सामान्य सोधपुछपछि रिहा गरिएको छ।



कागजपत्र |
